Friday, 25 September 2015

Nepali Maan

आश्विन ९, २०७२- भारतीय आयल निगमले असुरक्षाको कारण देखाउँदै सीमावर्ती रक्सौलस्थित भारतीय डिपोमा इन्धन लिन गएका नेपाली गाडीमा तेल भर्न रोकेको छ । डिपोमा पुगेका ५६ ट्यांकर दुई दिनदेखि त्यत्तिकै थन्किएका छन् ।

नेपाल आयल निगमका अनुसार बिहीबार बिहानै पुगेका ती ट्यांकरमा इन्धन भरिएको छैन । भारतीय आयल निगमका कर्मचारीले ती ट्यांकरलाई मूल गेटबाट भित्र जानसमेत दिएका छैनन् ।

सीमावारि भने मधेसी मोर्चाको धर्ना छ । धर्नाले अवरोध भएपछि १ सय ३० ट्यांकर वीरगन्ज भन्सारबाट बिहीबार राति खाली फर्किए । धर्नाले गर्दा शुक्रबार पनि ट्यांकर पारि जान सकेनन् । निगमका वीरगन्ज कार्यालय प्रमुख अशोक साहका अनुसार बुधबारै ५६ ट्यांकर रक्सौल प्रवेश गरेका थिए । ‘पहिलो दिन नाकामा तनाव भन्दै तेल हालेनन्,’ एक चालकले भने, ‘दोस्रो दिन बकर इदको छुट्टी भनिदिए ।’ बरौनी डिप्पोमा इन्धन लिन पठाइएको ८ ट्यांकर अझै पुगि नसकेको आयल निगमले जनाएको छ । इन्धन भित्रिने प्रमुख नाका वीरगन्जबाट खपतको झन्डै ७० प्रतिशत इन्धन भित्रिन्छ । पछिल्लो ३ दिनयता ८ ट्यांकर इन्धन भित्रिएको छ । सामान्य अवस्थामा दैनिक सयदेखि एक सय ३० ट्यांकर भित्रिने गरेको थियो ।

नयाँ संविधान जारी पछि भारतले नाकाबन्दी गर्ने संकेत दिएसँगै रक्सौल कस्टमका कर्मचारी र सुरक्षाकर्मीले अनावश्यक दु:ख दिइरहेका छन् । भारतीय सीमा सुरक्षाबलले बुधबार इन्धन लोड गरी निस्कने क्रममा ना५ख ३४११ नम्बरको ट्यांकर चालकलाई बिना कारण कुटपिट गर्दा हातमा गम्भीर चोट लागेको थियो । जाँच गर्न र चलानी दिन पनि भारतीय कर्मचारीले बहाना बनाउन थालेका छन् । असुरक्षा र चलानीको ग्यारेन्टी नहुनाले ट्यांकर चालकहरू पारि जान हिच्किचाइरहेको नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष रवि गुरुङले बताए ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले भारतीय आयल निगमले इन्धन रोकेको औपचारिक जानकारी नभएको बताए । ‘आन्दोलनका कारण ढुवानी गर्न नसकिएको हो,’ उनले भने, ‘लोड भएका ५० ट्यांकर रोकिएका छन् । खाली सयवटा पनि उतै छन् ।’

No comments:

Post a Comment